
काठमाण्डु, ११ असार– गृह मन्त्रालयले काँग्रेस पूर्वमहामन्त्री कष्णप्रसाद सिटौला र नेतृ सुजाता कोइरालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ गर्न निर्देशन नदिएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता सहसचिव केदार शर्माले सोमबार विज्ञप्ति जारी गर्दै सिटौला र कोइरालालाई पक्राउ गर्न निर्देशन नदिइएको बताएका हुन् ।
एक दैनिक पत्रिकाले सिटौला र कोइरालालाई पक्राउ गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी नेतृत्वलाई निर्देशन दिएको समाचार प्रकाशित गरेको थियो ।
विज्ञप्तिमा श्रेष्ठले कार्यभार सम्हालेसँगै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउँदै सबै मुद्धामा स्वच्छ, निस्पक्ष र दबाबरहित ढंगले अनुसन्धान तथा कारबाही अगाडि बढाउन नेपाल प्रहरीलगायतका सुरक्षा निकायलाई निर्देशन दिएको भए पनि कुनै व्यक्ति लक्षित केही गर्न वा नगर्न कुनै प्रकारको निर्देशन दिएको कुरा भ्रामक, कपोलल्पित, झुठा भएको उल्लेख छ ।
सत्यमा आधारित नभई प्रकाशित यस्ता समाचारले मन्त्रालयले हाल सञ्चालन गरिहरेको अपराध र भ्रष्टाचार नियन्त्रणको अभियानलाई दिग्भ्रमित पार्न उद्दत समूहलाई फाइदा पुग्नेतर्फ सचेत रहन सञ्चार माध्यमलाई आग्रह गरिएको छ ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै अरबौं ठगी गर्ने गिरोहका सदस्य केशव दुलाल सुजाताका स्वकीय सचिव हुन् । सुजाता परराष्ट्रमन्त्री हुँदा दुलाल उनका स्वीकय सचिव थिए । दुलाल हाल काठमाण्डु जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा छन् ।