
काठमाण्डू, २५ जेठ– कांग्रेस नेता विमलेन्द्र निधिले नेकपा माओवादी केन्द्रलाई संसद् अवरोध नगर्न आग्रह गरेका छन् । आज (आइतबार) शहीद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको राधेश्याम जोन्छेको पूर्णकदको शालिक अनावरण तथा प्रतिष्ठानको भवन उद्घाटन कार्यक्रममा कांग्रेस नेता निधिले यस्तो बताएका हुन । उनले संसद्लाई अवरोध गर्ने काम उचित नभएको तर्क गरे ।
नेता निधिले सहज रूपमा सदन चल्ने वातावरण बनाउन माओवादीसँग आग्रह समेत गरेका छन । भिजिट भिसा प्रकरणमा अख्तियारले गरेको अनुसन्धानलाई विश्वास गर्नुपर्ने उनको भनाइ छ । नेता निधिले राजा फर्काउन कुरा निरर्थक रहेको बताए ।
उनले भने, ‘नेपालको इतिहास हेर्ने हो भने नेपाली जनताले पटक–पटक राजालाई साथ दिएको भए पनि त्यसको बदलामा राजाले त्यति पटक जनताको अधिकार खोसेर जनतालाई धोखा दिएको छ ।’