
काठमाण्डु, ११ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धनले पाँच वर्षसम्म निरन्तरता पाउने बताएका छन् ।
सत्तारुढ गठबन्धनमा कुनै खटपट नरहेको र प्रतिपक्षीसँग पनि आफ्नो कुराकानी भइरहेको प्रचण्डले बताए ।
‘सरकारको आयु कति भन्नेबारे मिडियामा हुने नहुने तपाईहरुले हेर्नुभएको होला, सुन्नुभएको होला’, सोमबार धादिङको गजुरीमा आयोजित कार्यक्रममा उनले भने, ‘लगातार गठबन्धनमा भएको बैठक र प्रतिपक्षसँग पनि भएको बैठकका आधारमा पनि म के भन्न सक्छु भने पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन ।’
नेपालमा धेरै राम्रो भएको नरुचाउने र नकारात्मक मानसिकता रहेकाहरुको कुरा आफूले सुन्न छाडेको उल्लेख गरे । आफ्नो ठाउँबाट राम्रो गर्दै जाँदा जनताले एक दिन फैसला गर्ने विश्वास उनको थियो ।
प्रचण्डले आफ्नो भारत भ्रमण सफल र ऐतिहासिक भएको दाबी गरे । भारतले १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने सहमति, भारत बंगलादेश र नेपालबीच विद्युत व्यापार सम्झौता र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सीमा समस्या समाधान गर्ने प्रतिबद्धता लगायत उपलब्धी भ्मणबाट हासिल भएको दलिल उनको थियो ।
प्रचण्डले भ्रष्टाचार नियन्त्रण र जनतालाई सेवा सुविधा दिने काममा आफ्नो प्रमुख ध्यान केन्द्रित रहेको बताए ।