मन्त्रीको लाचार प्रस्तुतिः मैले मात्र चाहेर कर्मचारी सरुवामा लेनदेन रोक्न सक्दिन

काठमाण्डु टुडे २०८० असार ११ गते १३:४१ मा प्रकाशित

काठमाण्डु, ११ असार– सामान्य प्रशासन तथा संघीय मामिलामन्त्री अमनलाल मोदीले कर्मचारी सरुवामा हुने आर्थिक चलखेल आफूले मात्र रोक्न नसक्ने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफमा उनले कर्मचारी सरुवा बढुवाका भ्रष्टाचार हुने गरेको आफूले पनि सुनेको बताए । आफूले मात्र चाहेर सरुवामा हुुने भ्रष्टाचार नरोकिने उनको भनाइ थियो । आफूलाई मात्र नभई अरु मन्त्रालयका मन्त्री र सचिवलाई पनि त्यसबारे कुरा गर्न उनले प्रश्न उठाउने सांसदलाई आग्रह गरे ।

‘मैले मात्र सुधार गर्ने होइन । विभिन्न मन्त्रालयहरु, विभिन्न तहका कर्मचारीहरु । हामीले विभिन्न मन्त्रालयमा कर्मचारी खटाउने क्रममा विभिन्न मन्त्रालयमा पनि सबैले प्रतिबद्धता जाहेर गर्नुपर्छ कि यो देशमा भ्रष्टाचार निर्मुल गर्नका निम्ति सबैको हातेमालो चाहिन्छ’, ‘हामी एक्लैले गरेर सक्दैनौं । सबैको सहायता चाहिन्छ । सामान्यले त पठाउने हो । अरु निकायले पनि यदि तत्तत ठाउँमा गर्ने हो भने भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ ।’

उनले एकथरी कर्मचारीहरुको टिम सिंहदरबारमा मात्र रहने व्यवस्था पहिलेदेखि नै चल्दै आएको र आफूले पनि त्यसमा परिवर्तन गर्न नसकेको स्वीकार गरे । मोदीले कसैले आफ्नो नाममा कसैले आर्थिक चलखेल गरेको भए सूचना दिन भने । त्यस्तो गरेको भेटिए कारबाही गर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us