
काठमाण्डु, ११ असार– काँग्रेस सांसद प्रदीप पौडेलले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा भएको भष्टाचार छानबिन गर्न संसदीय समिति गठनको माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै पौडेलले धार्मिक आस्थाको कन्द्रमा भएको भ्रष्टाचारले संसारका अगाडि नेपालीको शिर निहुरिएको उल्लेख गरे ।
उनले महालेखा परीक्षकको प्रतिवेदनमा दुई वर्षअघि नै जलाहरी प्रकरणमा अनियमितता भएकोबारे उल्लेख भएको भए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिले आएर छानबिन अघि बढाउनुको कारण माग गरे । पौडेलले उक्त प्रकरणबारे संसदमा कुरा उठाउँदा सांसदले बोलेका विषय रेकर्डबाट हटाएर संसदले गल्ती गरेको बताए ।
‘एकजना माननीयज्यूले पशुपतिनाथको मन्दिरमा राखिएको जलहरी सम्बन्धमा कुरा उठाउँदा त्यसलाई रेकर्डबाट हटाइयो’, उनले भने, ‘मेरो विचारमा त्यसबाट संसदले त्यस विषयलाई ढाकछोप गर्न खोजेको सन्देश गएको छ ।’ माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले तत्कालीन प्रधानमन्त्री केपी ओलीको समयमा जलहरी राख्दा ९ केजी सुन हिनामिना भएको आरोप लगाउँदै छानबिनको माग गरेका थिए ।
सो विषयलाई लिएर एमालेले संसद नै अवरुद्ध गरेपछि दाहालले बोलेको विषय संसदको रेकर्डबाट हटाइएको थियो । पौडेलले पशुपतिनाथ मन्दिरमा जहलरी राख्नेदेखि कार्यान्वयनसम्म थुप्रै विषयहरु जोडिएको बताए ।