काठमाण्डु, ३१ जेठ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा हुँदै नयाँ नेकपा बनाउने बताएका छन ।
आज (बुधबार) माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।
उनले समाजवादी क्रान्तिको तयारीका लागि समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताएका छन । उनले मोर्चाको दस्तावेजसमेत टुंगो लगाइसकेको जानकारी दिँदै भने, ‘हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ । तल्लो तहसम्म समाजवादी मोर्चा बन्छ ।’
विगतमा नेकपा एमालेसँग एकता गरेर नेकपा बनाए पनि सफल नभएको भन्दै उनले फेरि नेकपा बनाउने कोसिस भइरहेको बताएका छन ।
उनले भने, ‘हिजोको एकता कायम राख्न सम्भव भएन, फेरि नेकपा बनाउने कोसिस भइरहेको छ । यसभित्र ठूलो अर्थ छ ।’ उनले जनताको ठूलो हिस्सालाई संगठित नगरी समाजवादी क्रान्तिको आधार तयार पार्न नसकिने भन्दै त्यसका लागि सच्चा वामपन्थी र कम्युनिस्टहरूबीच एकताका लागि व्यापक बहस चलाउने बताएका छन ।
एमालेमा पनि एकताका पक्षधर रहे पनि मूल नेतृत्व नै एकताको बाधक देखिएको बताएका छन । उनले भने, ‘फेरि एकताका लागि पहल गर्नुपर्ने छ,’ एमालेमा पनि एकताका पक्षधरहरू छन् ।
उनीहरूको नेतृत्व परिवर्तन भएमा एमाले पनि एकताको पक्षमा आउँछ । त्यहाँ मुख्य नेतृत्व नै मूलरूपमा एकताको बाधक देखिन्छ । ’