
काठमाण्डु, ३० जेठ– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल वायु सेवा निगममा नयाँ जहाज थप्न नदिन षड्यन्त्र भइरहेको आरोप लगाएका छन ।
उनले नयाँ जहाज नकिन्ने भए मन्त्रालय खारेज गरिदिए पनि हुने बताएका छन । नेपाल वायु सेवा निगमको विमान मलेसियाबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेपछि मंगलबार बिहान विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री किराँतीले यस्तो बताएका हुन ।
उनले नयाँ जहाज थप्न नदिने षड्यन्त्र भइरहेको आरोप लगाएका छन । उनले निगमका जहाज थप्न नदिने षड्यन्त्र कसले गरेको हो भन्नेचाहिँ खुलाएका छैनन् ।
तर मन्त्री किराँतीले निजी विमान कम्पनीको स्वार्थमा निगमलाई नयाँ जहाज थप्न नदिने षड्यन्त्र भएको इङ्गित गरेका हुन । उनले भने, ‘जहाज किन्नैपर्छ अन्यथा मन्त्रालय खारेज गरे हुन्छ, ‘किन्न नदिन थुप्रै षड्यन्त्रहरु छन् तर ऐनअनुसार कुनै दाग नलाग्ने गरी पारदर्शी ढंगले खरिद गर्नैपर्छ ।’
उनले निजी कम्पनीको भाडादर ज्यादै महँगो भएकाले निगमले जहाज थपेर सस्तो दरमा सेवा दिनुपर्ने बताएका छन । उनले साना–ठूला गरी कम्तीमा ५० वटा जहाज निगमको हुनुपर्ने बबताएका छन ।
उनले भारतसँग हवाई रुटको अनुमति लिन सरकारले प्रयास गरिरहेको भन्दै छिट्टै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुने बताएका छन ।
उनले बौद्ध धर्मावलम्बीको बाहुल्य भएका थाइल्यान्ड, कम्बोडिया, श्रीलंकामा सिधा हवाई उडानका लागि पनि पहल भइरहेको बताएका छन ।
मन्त्री किराँतीले विमानस्थल नियमित र पूर्ण क्षमतामा सन्चालनका लागि प्रचार र बजारीकरण १० गुणाले बढाउन कर्मचारीलाई निर्देशनसमेत दिएका छन । उनले भने, ‘भएका विमानहरुलाई घाममा सुकाएर राख्ने छुट छैन ।’