
काठमाण्डु, ३० जेठ– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले हतारमा आकस्मिक रुपमा विश्वासको मत लिने तयारी गरेका छन ।
त्यसका लागि आज मंगलबार साँझ ५ बजेको लागि आकस्मिक रुपमा प्रेदशसभाका बैठक डाकिएको प्रदेशसभा सचिवालका सचिव रञ्जित यादवले जानकारी दिएका छन ।
सरकारलाई समर्थन दिएका कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र पुनः विश्वासको मत लिनु पर्न कानुनी व्यवस्था रहेको छ ।
२७ पुसमा मधेश प्रदेशसभाको ठूलो दल नेकपा एमालेसहितका दलको समर्थनमा मुख्यमन्त्री सरोजकुमार यादव नियुक्त भएका थिए ।
केन्द्रमा राष्ट्रपतिको निर्वाचन सँगै समीकरण फेरिएपछि चैत २१ मा मधेश सरकारबाट बाहिरिएको एमाले जेठ १ गते समर्थन फिर्ता लिएको थियो । यस अनुसार भोलिसम्मा जसरी पनि सरकारले प्रदेशसभाबाट पुनः विश्वासको मत लिनु पर्ने हुन्छ ।
तर, विश्वासको मत लिन मधेश सरकारले कुनै चासो देखाएको थिएन ।३० दिन बित्दा अदालतमा सरकारविरुद्ध रिट परेर कानुनी अड्चन आउन सक्ने देखेपछि मुख्यमन्त्री यादवले आकस्मिक रुपमा विश्वासको मत लिने तयारी गरेका हुन ।
यसअघि बिहान बसेको सत्ता गबन्धन दलको बैठकले विश्वासको मत लिनु पर्ने निर्णय गरेको थियो । प्रदेशसभा सचिवालयले सांसदहरुलाई मोबाइलमा एसएमएस पठाएर साँझ ५ बजे बैठक डाकिएको जानकारी गराएको छ ।
२६ गते बसेको प्रदेशसभाको बैठक अगामी जेठ ३२ गते बस्ने गरी स्थगित भएको थियो । प्रदेश सभामा एमालेका २३ , कांग्रेस २२, जसपा १८, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी र माओवादी केन्द्रका ९–९, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एकरएक जना सांसद छन् । यस्तै ३ जना स्वतन्त्र सांसद पनि रहेका छन ।