बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी

काठमाण्डु टुडे २०८० जेठ ३० गते १२:२० मा प्रकाशित

काठमाण्डु, ३० जेठ– बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकमा बजेटमा गठबन्धनमै रहेका दलहरूको असन्तुष्टिबारे छलफल भएको बताइएको छ ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा प्रकाशशरण महत, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु सहभागी रहेका छन ।

नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले बजेट विनियोजनप्रति चर्को असन्तुष्टि जनाएपछि प्रधानमन्त्री प्रचण्डले छुट्टाछुट्टै र सामूहिक छलफल थालेका सुरु गरेका छन ।

गठबन्धनमा रहेका एकीकृत समाजवादी र जसपाका नेताहरूले सार्वजनिक रूपमै बजेट विनियोजन गर्दा पहुँचका आधारमा निश्चित क्षेत्रमा केन्द्रित गरेको भन्दै संशोधन नभए पारित हुन नदिने बताउदै आएका छन ।

सोही क्रममा आइतबार र सोमबार दुवै दलका सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री प्रकाशशरण महतलाई भेटेर ध्यानाकर्षण गराइसकेका छन् ।

सोमबार माधव नेपालसहितका समाजवादीका सांसदहरू बालुवाटारमा प्रधानमन्त्रीसँग भेटेर बजेट सच्चाउन आग्रह गरेका थिए ।

त्यस क्रममा प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री महतलाई के गर्न सकिन्छ भन्दै गर्न भने पनि उनीहरू बजेट सच्चिनेमा विश्वस्त हुन सकेका थिएनन् ।

सत्ता गठबन्धनमा रहेका दलहरू आश्वस्त हुन नसकेपछि प्रधानमन्त्री प्रचण्डले मंगलबार गठबन्धनका शीर्ष नेताको बैठक बोलाएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us