
काठमाण्डु, ३० जेठ– काठमाण्डुको ओमबहालमा खुकुरी प्रहार गरी भाइले दाइको हत्या गरेका छन् । काठमाण्डु महानगरपालिका–२३ ओमबहालमा गए राती भाइले खुकुरी प्रहार गरी दाइको हत्या गरेको प्रहरीले बताएको छ ।
घटना गय राती १२ बजेतिरको हो यद्यपि प्रहरीलाई भने बिहान ८ः३० बजे मात्रै खबर आएको प्रहरी वृत्त जनसेवाका डीएसपी भेषराज रिजालले जानकारी दिएका छन ।
दाइ र भाइबीच झगडा भएपछि भाइले धारिलो हतियारले प्रहार गरी दाइको हत्या गरेको पाइएको उनले बताएका छन । डीएसपी रिजालका अनुसार काठमाण्डु महानगरपालिका–२३ का २५ वर्षीय सुरज शाक्यले आफ्नै दाइ ४५ वर्षीय सूर्य शाक्यको हत्या गरेका हुन् ।
मदिरा सेवन गरी घर आएका दाइ सूर्यले आमालाई गालीगलौज गर्न थालेपछि भाइ सुरज शाक्यले धारिलो हतियार प्रहार गरी रातको करिब १२ बजे दाइको हत्या गरेको उनले बताएका छन ।
धारिलो प्रहार प्रयोग गरे लगत्तै भाइले दाइको कोठाको बत्ती निभाएर माथिल्लो तलामा गएर सुतेका थिए । घटनाबारे परिवारका सदस्यहरूलाई राती नै थाहा भएको भएपनि प्रहरीलाई भने बिहान मात्रै जानकारी आएको रिजालले बताएका छन ।
हत्यापछि फरार भएका भाइ सुरजलाई प्रहरीले बाङ्गेमुढाबाट नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरील जनाएको छ ।