
काठमाण्डु, ३० जेठ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको मुद्दा न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ ।
जनयुद्धको समयमा बाल सैनिक प्रयोग गरिएको कारण तत्कालीन नेकपा माओवादीको नेतृत्वलाई कारबाहीको माग गर्दै दायर रिट न्यायाधीश मल्लको इजलासमा परेको हो ।
पूर्व बाल सैनिक लेनिन विष्टले दायर गरेको रिट मंगलबारको इजलासमा राखिएको थियो । तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल सहितका नेतृत्वमाथि बाल सैनिकको प्रयोगसम्बन्धी रिट दर्ता गर्न सर्वोच्च अदालतले शुक्रबार सर्वोच्च अदालत प्रशासनको नाममा आदेश दिएको थियो ।
पूर्व बाल सैनिक लेनिन विष्टले माओवादी युद्धमा प्रयोग भएको बाल सैनिक अन्तर्राष्ट्रिय मानवीय कानुन विपरीतको कार्य भएको तत्कालीन नेतृत्वलाई कारबाही गर्न माग गर्दै सर्वोच्च पुगेका थिए ।
तर सर्वोच्च अदालतले उक्त रिट दरपीठ गरेपछि विष्ट दरपीठविरुद्ध सर्वोच्च पुगेको थिए । विष्टले आफ्नो रिटमा तत्कालीन नेकपा माओवादीको नेतृत्वकर्ताहरू पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई लगायतका नेताविरुद्ध बाल सैनिक प्रयोग गरिएको भन्दै कारबाहीको माग गरेका छन् ।