संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार गरियो: अर्थमन्त्री महत

काठमाण्डु टुडे २०८० जेठ २९ गते १५:३२ मा प्रकाशित

काठमाण्डु,२९ जेठ– अर्थमन्त्री डा प्रकाशशरण महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार गरिएको बताएका छन ।

आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा आर्थिक बर्ष ०८०–८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताएका हुन ।

उनले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको विशेषताको कुरै नभएको र गलत प्रचार बढी भएको बताएका छन । उनले भने, ‘यो कार्यक्रममा बजेटको सीमितता छ । भौतिक पूर्वाधारको निकै माग छ ।

यस्तो बेलामा निर्वाचन क्षेत्रमा नभई नहुने पूर्वाधार आयोजनामा कम्तीमा १ करोड रुपैयाँका दरले बजेट जाँदा पूर्वाधार विकासमा सहयोग पुग्यो । यो पुँजीगत खर्च नै हो ।

’ उनले कम्तीमा १ करोड घटीको बजेटमा ठेक्का नलाग्ने र ठेक्का लगाउने काम सम्बन्धित मन्त्रालय कै भएको बताएका छन । उनले भने,‘माननीयले त सिफारिस मात्रै गर्ने हो ।

सिफारिस पनि गर्न नपाउने कुरा जायज होइन’ । निर्वाचन क्षेत्रमा निर्वाचित, समानुपातिक लगायत सबै मिलेर योजना छनौट गर्ने कार्यविधि समेत बन्ने उनको भनाई थियो ।

अर्थमन्त्री महतले आगामी आर्थिक वर्षको लागि प्रत्येक निर्वाचन क्षेत्रको लागि ५ करोड विनियोजन गरेका थिए । यो कार्यक्रम अन्तर्गत एउटा आयोजनामा कम्तीमा १ करोड विनियोजन भएको छ ।

सडक, सिँचाइ, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद लगायतका भौतिक पूर्वाधार निर्माणका आयोजना तथा कार्यक्रमका लागि ८ अर्ब २५ करोड विनियोजन गरेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us