
काठमाण्डु,२९ जेठ– अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बचाउ गरेका छन् । उनले यो कार्यक्रमको बजेट सांसदको खल्तीमा नजाने भन्दै उनले यसमा आत्तिनु नपर्ने बताएका छन ।
आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०र८१ का लागि विनियोजित बजेटबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताएका हुन ।
उनले बजेटको महत्व कम देखाउन निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट सांसदको खल्तीमा जाने गरी विनियोजन भयो भनेर प्रचार गरिएको बताएका छन ।
प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोट बजेट विनियोजन गरेका उनले भने, ‘यो रकम माननीयहरुको खल्तीमा जाने होइन ।’ उनले सांसदहरुको सिफारिसमा बढीमा ५ वटा योजनामा रकम खर्च गर्ने र त्यसको ठेक्का सम्बन्धित मन्त्रालयले लगाउने बताएका छन ।
उनले भने, ‘माननीय ज्यूहरुले सिफारिस पनि गर्न नहुने जायज छैन’ ‘जनताको अपेक्षा धेरै छ, सांसदहरुलाई ल मेकरका रुपमा मात्र जनताले बुझेका छैनन्, सुखदुःखमा सम्बोधन गरिदिओस् ।
त्यसकारण सिफारिस जायज छ ।’ उनले निर्वाचन क्षेत्र विकास कार्यक्रममा सांसदहरुलाई भेदभाव नगरिएको बताएका छन । उनले समानुपातिक, प्रत्यक्ष र राष्ट्रिय सभाका सदस्य सबै मिलेर योजना सिफारिस गर्ने गरी कार्यविधि बनाउने बताएका छन ।
उनले कुनै निर्वाचन क्षेत्रका सांसदहरुले यो रकम नलिने हो भने रकमान्तर भएर पुँजीगत खर्चका रुपमा उपयोग गर्ने बतनाएका छन ।