वामदेव गौतम एमालेमा फर्कन तयार

काठमाण्डु टुडे २०८० जेठ २४ गते १८:३४ मा प्रकाशित

काठमाण्डु, २४ जेठ– राष्ट्रिय सभाका सांसद एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतम एमाले मा प्रवेश गर्ने तयारी गरेका छन ।

पार्टीको कार्यकारी पदका लागि ७० वर्षे उमेरहद निलम्वन गर्ने एमालेले निर्णय गरेलगत्तै उनले बुधवार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ आफूसँग रहेका साथीहरुसहित एमालेमै फर्कन आफू तयार रहेको बताएका छन ।

उनले तर त्यसका लागि अध्यक्ष केपी ओलीले आफूलाई प्रस्ताव गर्नुपर्ने बताएका छन । उनले भने, ‘यदि उहाँहरुले मलाई खबर गर्नुभयो । तपाईंलाई अहिले पनि निलम्वन भएको छ । आगामी महाधिवेशनसम्म निलम्बन भइरहन्छ ।

तपाई आउनुपर्यो भन्नुभयो भने म र मसित रहेका जेजति साथीहरु छन् । त्यो लिएर त्यहाँ एकीकृत हुन हामी जान्छौ । यहि अवस्थामा जान्छौं । अरु केही पर्दैन अब’ ‘ओलीले आउनुस् भन्नुपर्छ ।

किनभने पार्टी उहाँसँग छ । मसँग पार्टी छैन अहिले । नेकपा एमाले मसित छैन । त्यसो भएर पार्टी जोसित छ । उहाँहरुले भन्ने हो । मैले अरु धेरैसँग सोधेँ–उहाँहरु कसैले पनि बोल्नुभएन । निलम्बन भइसकेपछि पनि मैले सोध्न खोजेँ ।

उहाँहरुले भन्नुभएन ।’ उनले एमाले आफूले निर्माण गरेको पार्टी रहेको भन्दै एमालेप्रति माया लाग्ने बताएका छन । उनले आफ्नो पार्टी सदस्यता पनि एमालेमै रहेको बताएका छन । उनले भने, ‘मेरो सदस्यता त्यहीँ छ ।

मैले निर्माण गरेको पार्टी हो । मैले त्यसलाई माया गर्छु ।’ गौतमले केही दिनभित्र पार्टी सदस्यता नविकरण गर्ने समेत बताएका छन । गौतमले आफू एमालेमा अध्यक्ष वा महासचिव बन्नका लागि जान नलागेको पनि बताएका छन ।

उनले भने, ‘मेरो सदस्यता त्यहीं छ, उहाँहरुले हटाइदिनुभएको पनि छैन । र, पोहोर सालको नविकरण भएको छ । अहिले श्रीमतीलाई पठाएर पार्टी सदस्यता नविकरण गराउँछु । वामदेव गौतम एमालेमा अध्यक्ष हुन जाने होइन ।

महासचिव हुन जाने होइन । पार्टीमा योगदान दिन जाने हो ।’ यसैबीच एमाले अध्यक्ष केपी ओलीले पनि गौतमको पार्टी सदस्यता एमालेमै रहेको बताएका छन् ।

बुधवार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीले ७० वर्षे उम्मेर हद हटाउने हो भने वामदेव गौतमले एमाले आउने कुरा गर्नुभयो नि भनि प्रश्न गरेका थिए ।

‘ओलीले अब थप केही कुरा छ र ?’ भन्ने प्रतिक्रिया दिए । उनले यसबीचमा पनि गौतमले पार्टी एकता अभियान चलाएको बताएका छन । ओलीले भने, ‘उहाँले सदस्यता ती छ भन्नुभयो होइन ।

अनि, कुरा बाँकी छ केही छ थप कुरा ? उहाँले बीचमा पार्टी होइन एउटा फोरम बनाउनुभयो । एकता अभियान चलाउनुभयो । त्यो अभियान मात्रै हो । पार्टी खोलेको होइन ।

एमालेमा जान्छु भन्नुभएको छ । त्यो ठिक छ । ठिक छ । उहाँको पार्टी सदस्यता एमालेमै छ ।’ ओलीले एमालेमा जान्छु भन्ने गौतमको भनाई ठिक भएको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us