जातीय विभेद अन्त्य गर्नु सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री श्रेष्ठ

काठमाण्डु टुडे २०८० जेठ २० गते १५:३८ मा प्रकाशित

काठमाण्डु, २० जेठ -उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अझै पनि दलित समुदायमाथि जातीय छुवाछुतका घटना हुनु लज्जाको विषय भएको बताएका छन् ।

आजदेखी काठमाण्डुमा सुरु भएको स्थानीय तहमा निर्वाचित दलित समुदायका जनप्रतिनिधिको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले दलित समुदायको मुक्तिका लागि लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताएका छन ।

कार्यक्रमा बोल्दै श्रेष्ठले दलित समुदायमाथि जातीय शोषण मात्र नभएर वर्गीय शोषण पनि भइरहेको बताए । दलित समुदायको योगदान विना आजको दिनको कल्पनासमेत गर्न नसकिने उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

अहिलेको सरकारले दुई वटा विषयलाई प्रमुख महत्त्व दिएर काम गरेको बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले दलित समुदायमाथिको भेदभाव र महिलामाथि भइरहेको हिंसा सरकारको पहिलो प्राथमिकता रहेको जानकारी गराए ।

नेपाल छुवाछुतमुक्त राष्ट्र घोषणा भएको १८ वर्ष पुगेको भए पनि अझै विभेद कायम रहेको बताए । जातीय छुवाछुत सामाजिक अपराधको रूपमा कानूनी रूपमा सम्बोधन भइसकेकाले सरकार त्यसलाई कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us