मेरो भारत भ्रमण नेपाल र नेपालीको हितमा केन्द्रित हुनेछः प्रचण्ड

काठमाण्डु टुडे २०८० जेठ १८ गते ७:१८ मा प्रकाशित

नयाँदिल्ली, १८ जेठ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण सद्भावना अभिवृद्धि गर्न केन्द्रित रहने बताएका छन् ।

बुधबार राती नयाँदिल्लीस्थित नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा आयोजना गरेको रात्रिभोजसहितको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आपसी विश्वासको तथा सद्भावना अभिवृद्धि गर्दै नेपाल र नेपालीको हितमा आफ्नो भ्रमण केन्द्रित रहने बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा आफूले भारत भ्रमण गरेको जानकारी दिँदै उनले यस अवसरमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल हुने बताए ।

नेपाल र भारतबीच सदिऔँ पुरानो र जनस्तरको सम्बन्ध रहेको बताउँदै प्रधानमन्त्रीले यस भ्रमणपछि दुई देशबीचको मैत्री सम्बन्ध थप नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्रीले भारतमा अध्ययन, रोजगारीलगायत अन्य काममा रहेका नेपाली आफैमा सद्भावना दूत रहेको र नेपालको हितमा केन्द्रित रहेकामा प्रसन्नता व्यक्त गरे । उनले भारतमा सिकेको सीप तथा ज्ञानलाई मुलुकको समृद्धिका लागि खर्चनसमेत आग्रह गरे ।
नेपाली जहाँ रहे पनि नेपाल र नेपालीको हितमा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार प्रदान गर्न सरकार क्रियाशील रहेको बताए ।
प्रधानमन्त्रीले सरकारले हालै मात्र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई समेत सामाजिक सुरक्षाको अभियानमा संलग्न गराएकाले त्यसबाट लाभ लिन भारतमा रहेका नेपालीलाई आग्रह गरे ।
कोभिडका कारण समस्यामा परेको अर्थतन्त्र क्रमशः सुधारका क्रममा अगाडि बढेको जानकारी दिँदै उनले वर्तमान सरकार गठन भएपछि अर्थतन्त्र सुधारका लागि दत्तचित्त भएर लागेको स्पष्ट पारे ।
सेवा प्रवाहलाई थप सरल र जनपक्षीय बनाउन सरकार लागिपरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार नियन्त्रणका लागि सरकार पूर्ण प्रतिबद्धताका साथ लागिपरेको र शून्य सहनशीलताको नीति अख्तियार गरेको जानकारी गराए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us