
काठमाण्डु, १८ जेठ– चारदिने भारत भ्रमणका क्रममा नयाँदिल्लीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् ।
दुई प्रधानमन्त्रीबीच भारतीय समयअनुसार बिहान ११ बजेर ५ मिनेटमा हैदरावाद हाउसमा भेटवार्ता हुने कार्यक्रम छ । प्रचण्ड र मोदीबीच एक्लाएक्लै भेटवार्तापछि प्रतिनिधि मण्डलस्तरीय भेटवार्ता हुनेछ ।
भेटका क्रममा नेपालले थप हवाई रुट, विद्युत व्यापार, पारवाहन सन्धि नवीकरण, पेट्रोलियम पाइपलाइन विस्तार लगायत दुई पक्षीय हितका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।
प्रधानमन्त्री प्रचण्डले आजै भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्नेछन् । साँझ नेपाल, भारत दुवै देशका उद्योगी, व्यवसायीलाई सामूहिक रुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीले शुक्रबार मध्यप्रदेशको उज्जैनमा महाकालेश्वरको पूजाअर्चना गरी इन्दोर प्रस्थान गर्ने तथा मध्यप्रदेशका राज्यपालसँग भेटघाट गर्नेछन् । शनिबार अपराह्न ४ बजेर २० मिनेटमा प्रधानमन्त्री स्वदेश उड्ने छन् ।