
काठमाण्डु,१२ जेठ- सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी एक युवतीको हत्या भएको छ ।
सभापोखरी गाउँपालिका–१ का २३ वर्षीय नन्दराम गदालले सभापोखरी गाउँपालिका–१ घर भई खाँदबारी–१ बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या गरेका हुन । गदालले युवतीको हत्या गरेपछि खुकरी प्रहार गरी आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ ।
उनले युवतीको हत्या गरेपछि आफ्नै पेटमा खुकुरी प्रहार गरेका थिए । गम्भीर घाइते उनको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ । उनी बिहीबारमात्र नेपाल प्रहरीको तीन महिने तालिम सकेर खाँदबारी आएको खुलेको छ ।
गए राति गदाल मृतक दर्नालको डेरामा बसेको बताइएको छ । बिहान स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । हत्याको कारण भने खुल्न नसकेको प्रहरीले बताएको छ।