
काठमाण्डु, ६ जेठ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरु बैठकमा बस्नुलाई नराम्रो दृष्टिकोणबाट लिन नहुने बताएका छन ।
आज (शनिवार) काठमाण्डुमा अखिल नेपाल ट्रेड युनियन महासंघको पदास्थापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।
उनले सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरुको बैठक बस्दा भ्रष्टाचार प्रकरणलाई सामसुम बनाउन लागेको हो कि भन्ने शंका गर्ने गरिएको भन्दै आफूहरु सदनलाई प्रभावकारी बनाउन र परिवर्तनलाई उल्ट्याउने प्रयत्नविरुद्ध एकजुट हुनका लागि बसेको बताएक छन ।
उनले भने, ‘सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरु बस्दा यो अभियान र आन्दोलनलाई सामसुम पार्न बसेका हुन् कि भनेर शंका गर्ने गरिएको छ’ म विश्वास दिलाउन चाहन्छु, हामी सदनलाई कसरी सुचारु गर्ने भनेर बसेका हौँ ।’ उनले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोशिस भइरहेको बताएका छन ।
उनले भने , ‘देशमा एकथरी मानिसहरु नेपाली जनताले झन्डै ७ दशक भन्दा बढी संघर्ष गरेर प्राप्त परिवर्तनलाई उल्ट्याउने, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोशिस भइरहेको छ, प्रधानमन्त्रीले भने, ‘त्यसरी बस्नुको तात्पर्य १२ बुँदे समझदारी हुँदै विस्तृत शान्ति सम्झौता र संविधानको घोषणामा एकसाथ उभिएका दलहरु फेरि एक ठाउँ उभिनुपर्ने स्थिति आउनसक्छ भनेर बसेका हौँ ।’