
काठमाण्डु, ६ जेठ– पूर्वराष्ट्रपति डा. रामवरण यादवले संविधानको पुनर्मूल्यांकन गर्ने बेला नभएको बताएका छन । शुक्रबार काठमाण्डुमा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक नेपालको संविधानको व्याख्या भाग १ र २ को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
उनले अहिले नै संविधानको पुनःमूल्यांकनको बेला नभएको भन्दै अहिले पूर्ण रुपमा संविधान लागू गरेर जाने समय भएको बताएका छन । उनले भने, ‘संविधानलाई पुनःमूल्यांकन गर्ने बेला भएको छैन ।
यसलाई लागू गर्नेतिर हामी जाऔँ । एकाध चुनावहरु हुन्, राम्रोसँग यो लागू होस् त्यो हामी चाहन्छौँ’ ‘यो संविधानलाई जति हामीले संरक्षण गरेर लैजान सक्दैनौँ, भोलि हामीले यो देशलाई सम्हाल्न सक्दैनौँ ।’
उनले वर्तमान संविधानको कार्यान्वयन सही ढंगबाट गर्न बाँकी नै रहेको बताएका छन । प्रथम राष्ट्रपति यादवले वर्तमान संविधानलाई संरक्षण गरेर लैजान नसके देशलाई सम्हाल्न गाह्रो हुने बताएका छन ।
उनले भने, ‘हामीले भूराजनीतिक, अन्तर्राष्ट्रिय परिप्रेक्ष्य यी सबै कुराहरु सोचेर यो देशको एकता, अखण्डतालाई कायम गर्दै लोकतान्त्रिक व्यवस्थालाई अघि बढाउँदै, कानूनको शासन जुन छ, यसलाई अघि बढाउँदै लगे हाम्रो देश सफल हुन्छ ।’