कोरियाली राष्ट्रपति येल र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाण्डु टुडे २०८० जेठ ६ गते १३:१५ मा प्रकाशित

एजेन्सी– दक्षिण कोरियाका राष्ट्रपति युन सुक येल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भेटवार्ताको क्रममा दुवै पक्षबीच पारस्परिक सम्बन्ध विस्तारका साथै प्रतिरक्षा र व्यापारीक सम्बन्ध प्रवद्र्धनबारे विचारविमर्श भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले जानकारी दिएका छन ।

कोरियासँगको विशेष राजनीतिक साझेदारी र दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका सन्दर्भमा पनि छलफल भएको प्रवक्ता बाग्चीले जानकारी दिएका छन ।

भेटवार्ताको क्रममा दुवै पक्षले व्यापार, लगानी र प्रविधिका क्षेत्रमा सहकार्य गर्न सहमति जनाएका छन् । प्राविधिक उपकरण उत्पादन, प्रतिरक्षा र संस्कृति सम्बन्ध विस्तारबारे पनि नेताद्वयबीच विचारविमर्श भएको जनाइएको छ ।

भेटवार्ताको क्रममा कोरियाली राष्ट्रपति र भारतीय प्रधानमन्त्रीले भारतले गरेको जी ट्वेन्टी तथा कोरियाले गरेको हिन्द–प्रशान्त रणनीतिको अध्यक्षताबारे पनि छलफल भएको छ ।

भारतीय प्रधानमन्त्रीको कार्यालयले कोरियाली राष्ट्रपतिसँगको प्रधानमन्त्री मोदीको भेटवार्ता फलदायी रहेको बताएको छ । दुवै मुलुकबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको चर्चा गर्दै प्रधानमन्त्रीको कार्यालयले दुई नेताबीचको वार्ता विकासका विषयमा केन्द्रित रहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us