
काठमाण्डु, ५ जेठ– नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै रकम उठाउने गिरोहसँग साँठगाँठ देखिएका तत्कालीन गृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापा बादल पुत्र प्रतीक थापा प्रहरीले पक्राउ गर्नैै लाग्दा फरार भएका छन् ।
थापालाई उनकै निवासबाट पक्राउ गर्न खोजेको थियो । उक्त प्रकरणमा पक्राउ परेकाहरुको बयानका आधारमा थापाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । त्यसयता उनी फरार छन् । प्रहरीको राष्ट्रिय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले थापाको पिछा गरिरहेको थियो । सोमबार बिहान घर पुगेको जानकारी पाएलगत्तै प्रहरी त्यहाँ पुगेको थियो ।
तर, थापा केहीबेर बसेर निस्किएको प्रहरीले श्रोतले जनायो । ‘केही दिनदेखि स्वीच अफ रहेको उनको मोबाइल घरकै ठेगानामा खुलेपछि प्रतीक पक्राउ पर्नेमा हामी ढुक्क थियौं’, ब्युरोका एक अधिकारीले भने, ‘हामी पुग्दा बाहिर निस्किइसकेछन् ।’
थापा नभेटेपछि परिवारका सदस्यसँग सोधपुछ गरेर सिआईबी टोली फर्किएको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुले अनुसन्धान प्रतिवेदन तयार पारेर सकेसम्म आजै दोषीमाथि कारबाही अघि बढाउन प्रहरीलाई ताकेता गरिरहेको छ ।
उक्त प्रकरणमा तत्कालीन गृहमन्त्री एवं काँग्रेस नेता बालकृष्ण खाँण, एमाले सचिव एवं पूर्वउपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज कमिटीका अध्यक्ष शमशेर मियाँ, नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी धन्दाका प्रमुख योजनाकार केशव दुलाल र सानु भण्डारीसहित झण्डै डेढ जर्दन व्यक्ति पक्राउ परिसकेका छन् ।