
काठमाण्डु, ३ जेठ– नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रयास गरेको प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधान एवं उर्जामन्त्री टोपबहादुर रायमाझी, कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण लगायतका अभियुक्तलाई प्रहरीले थप ३ दिन हिरासतमा राख्न अनुमति पाएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाण्डुले अनुसन्धान सकेर बुधबारसम्ममा रायसहितको प्रतिवेदन बुझाउन भनेको थियो । तर, अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले फेरि म्याद थप गर्न माग गरेको थियो ।
अदालतले आरोपीहरुलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिएका छन ।
प्रहरीले दुई दिनअघि एमाले नेता रायमाझीलाई काठमाण्डुको बूढानिलकण्ठ क्षेत्रबाट पक्राउ गरेको सूचना सार्वजनिक गरेको थियो ।
प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राईलाई पनि पक्राउ गरेको थियो ।
उनीहरुको बयानका आधारमा जिल्ला प्रहरी परिसर, काठमाण्डुले १९ वैशाखमा पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राईलाई पक्राउ गरेको थियो ।
यसको भोलिपल्ट २० वैशाखमा गृह मन्त्रालयका पूर्वसचिव एवं उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ गरेको थियो । पाण्डेले बयानका क्रममा तत्कालीन गृहमन्त्री खाँण समेत पक्राउ परेका थिए ।