
काठमाण्डु, ३ जेठ– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुर्याउने बताएका छन ।
आज (बुधवार) मन्त्रालयमा नेकपा एकीकृत समाजवादी का नेता तथा कार्यकर्ताहरूले नक्कली शरणार्थी प्रकरणको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाहीको माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन ।
गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई बाहिर पठाउने र त्यसबाट पैसा संकलन गरी सम्पत्ति आर्जन गर्ने कुरा संगठित अपराध भएको बताएका छन ।
उनले यो अपराधमा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउने बताएका छन । उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको र भ्रष्टाचार नियन्त्रण नभएसम्म समृद्धिको लक्ष्य हासिल हुन नसक्ने बताएका छन ।
उनले कुनैपनि भ्रष्टाचारका प्रकरणहरू निष्पक्ष भएर छानबिन गर्ने र कुनैपनि दबाबमा वा कुनैपनि अवाञ्छित प्रभावबाट सरकार प्रभावित नहुने बताएका छन ।