
काठमाण्डु, ३ जेठ– नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा टीकापुर घटनाका आरोपी रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार्नुको विकल्प नरहेको बताएका छन ।
उनले आफूमाथिको जन्मकैदको सजाय सदर गर्ने सर्वोच्च अदालतको फैसला न्यायिक नभए पनि स्वीकार्नुको विकल्प नभएको बताएका छन ।
‘मिति २०८० ज्येष्ठ २ गते सम्माननीय सर्वोच्च सर्वोच्च अदालतले गरेको फैसलामा म प्रति न्यायिक नहुन सक्छ, तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न,’ विज्ञप्तिमा उल्लेख गरेका छन ।
उनले टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्वीकार्दै भोलि पुनरावलोकनमा जान सकिने बताएका छन । उनले विज्ञप्तिमा लेखेका छन् ‘हामी सम्मानित अदालतलाई सदा सम्मान गर्छौँ, साथै सम्मानित अदालतलाई सबैले उत्तिकै सम्मान गर्नुपर्दछ ।
अहिले टीकापुर घटनाको फैसलालाई अनर्गल बनाउँदै जथाभाबी सामाजिक सञ्जालमा जे पायो त्यही पोस्ट नगर्नहुन अनुरोध गर्दछु ’।आफूलाई अझै सर्वोच्च न्यायालयप्रति भरोसा रहेको उनले बताएका छन ।
उनले भनेका छन, ‘हामी अझै न्यायिक पर्खाइमा छौं । त्यसैले सबैलाई सम्मानित सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गर्दै यो विज्ञप्ति जारी गरेको छु, उनले भने, ‘म डिल्लीबजार कारागारमा धैर्य, सहनशीलताका साथ कैद भुक्तान गरिरहेको छु । स्वस्थ छु । रत्तीभर मन विचलित छैन ।’