पार्टीमा भएको व्यक्तिले भ्रष्टाचार गर्नसक्छ तर पार्टी भ्रष्टाचारी हुँदैन: महामन्त्री थापा

काठमाण्डु टुडे २०८० जेठ ३ गते १४:१४ मा प्रकाशित

काठमाण्डु, ३ जेठ– कांग्रेस महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी कतै पनि जोडिन नहुने बताएका छन ।

आज (बुधबार) प्रजातन्त्रिक विचार समाजको १२ औं राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन । उनले यो प्रकरणमा पक्राउ परेका पार्टीका नेताहरुलाई निलम्बन गर्नुपर्ने बताएका छन ।

उनले कुनै पदमा बसेको मान्छे, प्रहरी, अदालत, निजामति कर्मचारी कहिँ पनि अभियोग लागेपछि स्वतः निलम्बन हुने भएकाले पार्टीले नेता बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्ने बताएका छन ।

उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका नेता मुछिनु भएको छ। पार्टीमा भएको व्यक्ति भ्रष्टचारी हुनसक्छ, पार्टी हुँदैन । विधिको शासन भएको ठाउँमा कानुनी प्रक्रियाको पालना सबैले गर्नुपर्छ’ ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिने सबैलाई कारबाही हुनुपर्ने भन्दै यसमा दायाँबायाँ गर्न नहुने बताएका छन । उनले पार्टीमा दाग लागे उनीहरुलाई निकालेर बाँकी रहेकालाई अगाडि बढाउनुपर्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us