नीति तथा कार्यक्रममा निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकता दिनुपर्छ: माधव नेपाल

काठमाण्डु टुडे २०८० जेठ २ गते १४:३४ मा प्रकाशित

काठमाण्डु, २ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई अघि बढाउनका लागि आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिन सरकारसँग माग गरेका छन ।

मंगलबार संघीय संसद् अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन ।

अध्यक्ष नेपालले सो विमानस्थलको कामलाई अगाडि बढाउनका लागि सरकारले संसदमा पेश गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा उल्लेख नगरिएको भन्दै अर्थमन्त्री डा। प्रकाशशरण महतप्रति असन्तुष्टि समेत व्यक्त गरेका छन ।

उनले सो विमानस्थलको महत्त्व अर्थमन्त्री महतले नबुझेको कि भनेर प्रश्न समेत गरेका छन । अध्यक्ष नेपालले मुलुकको गेम चेन्जर प्रोग्रामको रुपमा रहेको सो विमानस्थललाई अघि बढाउन संसदीय समितिहरुलाई पनि विशेष ध्यान दिन आग्रह गरेका छन ।

उनले आफूले जति कोसिस गर्दा पनि सो विमानस्थलको काम अघि बढ्न नसकेको बताएका छन । उनले ठूला शक्ति राष्ट्रहरुसँगको कूटनीतिक सम्बन्धलाई विशेष ख्याल गरेर अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आवश्यक निर्देशन सरकारलाई दिनुपर्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us