
काठमाण्डु, २ जेठ– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग र सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकलाई छिट्टै टुंगोमा पुर्याउने बताएका छन ।
आज मंगलबार कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई छिट्टै टुंगोमा पुर्याउने बताएका छन ।
उनले यी दुवै विधेयकहरुको महत्वलाई बुझ्दै छिटोभन्दा छिटो प्रक्रियामा लगेर अगाडि बढाउनुपर्ने बताउका छन । उनले भने, ‘हामीले धेरै लामो यात्रा गरिसकेका छौं।
एउटा व्यवस्थाबाट अर्को व्यवस्थामा आएर हामीले शान्ति प्रक्रियालाई अगाडि बढाउँदै सेना समायोजन गरिसकेको, संविधान समेत लेखिसकेको। अब रह्यो हात्ती छिर्यो, पुच्छर अड्क्यो भन्ने सुन्ने गर्थ्यौ, त्यस्तै भएको छ।
यसलाई छिटोभन्दा छिटो प्रक्रियामा लगेर अगाडि बढाउनुहुने नै छ भन्ने मेरो विश्वास छ । मनी लाउन्ड्रिङको विधेयकमा पनि संशोधन आएको छ । हामीले समयमै टुंगो लगाउन सकेनौं भने दुनियाँकै अगाडि लज्जित हुनुपर्ने अवस्था छ।’