
काठमाण्डु, २ जेठ– कांग्रेस नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको एक साता भइसकेको छ ।
खाँण पक्राउ परेपछि उनलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा बहस भए पनि कांग्रेसले कुनै निर्णय गरेको छैन । उनलाई निलम्बन गर्न पार्टीभित्रैबाट माग भइरहे पनि निलम्बन नगर्नुको कारण कांग्रेस प्रवक्ता डा प्रकाश शरण महतले बताएका छन ।
खाँणले निर्दोष प्रमाणित गर्छु भनिरहेकाले निलम्बन नगरेको बताएका छन् । आज मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन ।
उनले भने, ‘निर्दोष रहेको उहाँले भनिरहेकाले निलम्बनको निर्णय पार्टीले नगरेको हो ।’ यसबारे अनुसन्धान परिपक्क र स्वतन्त्र हुनुपर्ने बताउँदै महतले त्यसमा कांग्रेसले पनि सहयोग गर्ने पनि बताएका छन ।
गिरोहसँग लेनदेन गरेको आरोप लागेपछि खाँणलाई गत वैशाख २७ गते प्रहरीले काठमाण्डुस्थित निवासबाटै पक्राउ गरेको थियो ।
खाँण पक्राउ परेपछि पार्टी सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग संयुक्त छलफल गरेका थिए । सो छलफलमा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गर्नुपर्ने बताएका थिए ।