
काठमाण्डु, १ जेठ– स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलको भूमिका सही नभएको बताएका छन ।
आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलको कार्यालय नै प्रमाण मेटाउने काममा लागेको भन्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन ।
उनले भने, ‘महान्यायाधिवक्ताको कार्यालयको काम कारबाही ठिक छैन, सरकारी वकिल दिनभर घाम ताप्ने गरिरहेको छ’, ‘आज फुर्सद छैन, भोलि फुर्सद छैन ।
प्रमाण कमजोर बनाउने, मेटाउने र अल्छी गर्ने, त्यसकारणले सरकारी वकिलको भूमिका सही छैन ।’ उनले बिचौलियाले राज्यका सबै निकाय कब्जा गरेको भन्दै यसले लोकतन्त्र नै खतरामा परेको बताए ।
साथै उनले सक्कली भुटानी शरणार्थीमाथि समेत शङ्का उत्पन्न भएको बताएका छन ।