
काठमाण्डु, १ जेठ– राप्रपाका सांसद दीपकबहादुर सिंहले विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका जनशक्तिलाई स्वदेशमै रोक्नुपर्ने बताएका छन ।
आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन । सांसद सिंहले भने, ‘हाम्रो देशमा ९ वटा विश्वविद्यालयहरू छन् ।
त्यो विश्वविद्यालयबाट ६ वर्ष भयो एउटा पनि पेटेन्ट फाइल दर्ता गर्न सकेको छैन । विश्वविद्यालयबाट अहिलेसम्म पिएचडी उत्तीर्ण गर्ने ५ हजार जना छन् ।
आज पेटेन्ट दर्ता गर्नेमा चीन १५ लाख, अमेरिका ५ लाख, जापान २ लाख, भारत ३० हजार र नेपाल जम्मा ७० ओटा छ । नेपाले गएको ६ वर्षदेखि हालसम्म एउटा पनि पेटेन्ट अधिकार दर्ता गरेको छैन ।
हाम्रो देशको ब्रेन ड्रेन भएर विदेश गइरहेको छ । त्यो ब्रेन नेपाल नै बनाउनका लागि रोक्नुपर्ने बेला आएको छ । अहिलेको बजेटमा शिक्षा क्षेत्रमा बजेट ७० अरब रुपैयाँको बजेट छ ।
त्यो अनुभवी ब्रेनलाई यो देश बनाउन किन नराख्ने ?’उनले ती जनशक्तिलाई सशक्त बनाएर नेपालमै राख्न किन बजेट नबनाउने भन्दै प्रश्न समेत गरे । उनले यदि देशको उन्नति प्रगति गर्ने हो भने ५ हजार पिएचडी होल्डरहरूलाई नेपालमै रोक्नुपर्ने आवश्यकता रहेको बताएका छन ।