टोपबहादुर पुर्पक्षका लागि थुनामा नपरे निलम्बन नहुने

काठमाण्डु टुडे २०८० जेठ १ गते १३:४३ मा प्रकाशित

काठमाण्डु, १ जेठ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सचिव एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीको पद के हुन्छ ? धेरैलाई चासोको बिषय बनेको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा रायमाझी आइतबार साँझ काठमाण्डुको बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ परेका थिए ।

प्रहरी हिरासतमा रहे पनि उनको सांसद पद यथावत रहने भएको छ । प्रतिनिधिसभा नियमावली २०७९ अनुसार प्रहरी प्रधान कार्यालयले रायमाझी पक्राउ परेको सूचना संसद सचिवालयमा पठाउनुपर्नेछ ।

त्यसपछि सभामुखले प्रतिनिधिसभा बैठकमा सूचना सुनाउनेछन् । प्रतिनिधिसभा नियमावली ०७९ को नियम २४८ (३) अनुसार सांसदहरु फौजदारी मुद्दामा पक्राउ परेर पुर्पक्षका लागि थुनामा पठाइएमा निलम्बनमा पर्नेछन् ।

उक्त नियममा भनिएको छ, ‘प्रचलित कानून बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पूर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेश बमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुनेछ ।’

अर्थात, प्रहरी हिरासतमा रहदा रायमाझीको सांसद पद यथावत रहेने छ । यो मुद्दा अदालत पुगेपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाएमा उनी निलम्बनमा पर्ने छन ।

अदालतले धरौटी वा साधारण तारेखमा छाडेमा उनलाई सांसदको हैसियतमा नियमित काम गर्न र सेवा सुविधा उपभोग गर्न पाउने छन ।

प्रतिनिधिसभा नियमावली २०७५ मा सांसदहरु हिरासतमा पर्नेबित्तिकै निलम्बन हुने व्यवस्था रहेको थियो।४ मंसिरको चुनावपछि नयाँ प्रतिनिधिसभा गठन भएपछि प्रतिनिधिसभा नियमावली २०७९ बनाउँदा पुरानो व्यवस्था परिवर्तन गरेर पुर्पक्षका लागि थुनामा गएपछि मात्रै सांसद पदबाट निलम्बन हुने व्यवस्था राखिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us