टोपबहादुर रायमाझी पक्राउ परेका होइनन्ः एमाले नेता बस्नेत

काठमाण्डु टुडे २०८० जेठ १ गते ८:१३ मा प्रकाशित

काठमाण्डु, १ जेठ– एमाले नेता महेश बस्नेतले आफ्ना पार्टी सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ नगरेको दाबी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत बस्नेतले रायमाझी आफैं प्रहरीमा गएको दाबी गरे । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने भन्दै रकम उठाउने गिरोहमा संलग्न रहेको पाइएसँगै अदालतबाट पक्राउ पुर्जी जारी भएपछि फरार भएका रायमाझी गएराति काठमाण्डुको बुढानीलकण्ठबाट पक्राउ परेका थिए ।

काठमाण्डु प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीकै एक कार्यकर्ताको घरमा लुकेर बसेका बेला पक्राउ गरिएको बताएका छन् । तर, बस्नेत भने रायमाझी आफैं प्रहरीमा गएको बताउँछन् ।

‘प्रहरी अनुसन्धानलाई सहयोग गर्न एमालेले गरेको आदेश पालना गर्दै टोपबहादुर रायमाझी प्रहरीसामु पुग्नु भएको छ’, बस्नेतले लेखेका छन्, ‘नेपाल प्रहरीलाई निष्पक्ष छानबिन गरी सम्पूर्ण अपराधीहरूलाई कारबाहीको दायरामा ल्याउन अनुरोध छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us