एमालेले केन्द्रीय कमिटीअघि बोलायो सचिवालय बैठक

काठमाण्डु टुडे २०८० वैशाख २२ गते १२:१७ मा प्रकाशित

काठमाण्डु, २२ वैशाख– एमालेले केन्द्रीय समिति बैठकअघि केन्द्रीय सचिवालय बैठक बोलाएको छ । झापामा २९ वैशाख देखि ३१ सम्म हुने केन्द्रीय समिति बैठकअघि सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन ।

सचिवालय बैठक २६ वैशाखमा पार्टी केन्द्रीय कार्यालयमा बस्ने उनले बताएका छन । सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डाहरू तय गर्नेछ । सचिवालय बैठकअघि महासचिव शंकर पोखरेल नेतृत्वको पार्टी केन्द्रीय कार्यालयको बैठक वैशाख २५ मा बस्नेछ ।

एमालेले पार्टी सुदृढीकरण अभियान अन्तर्गत दुई महिने ‘मिसन ग्रासरुट’ अभियान सम्पन्न गरेको छ । फागुन ६ गतेदेखि सुरु भएको उक्त अभियान वैशाख ६ मा सकेर प्रदेशस्तरीय समीक्षा समेत गरिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us