
काठमाण्डु,१३ वैशाख– प्रहरीले पश्चिम नवलपरासीको बर्दघाटबाट भन्सार छली गरेर ल्याउँदै गरेको २१ टन चिनीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा धनगढीमाई–१० बस्ने ट्रक चालक वीरेन्द्र ठाकुर रहेका छन ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दघाटको टिसिएन चोकमा चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली गरी ल्याएको २१ हजार किलोग्राम चिनीसहित ना ६ ख २९०३ नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।
कारोबारमा संलग्न भएको आशंकामा ठाकुरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिएका छन ।
१५ लाख ८५ हजार मूल्य बराबर उक्त चिनी आवश्यक कारवाहीका लागि राजस्व कार्यालय बुटवल पठाइएको प्रहरीले बताएको छ ।