
एनेन्सी -अमेरिकी चर्चित मिडिया फक्स न्युजले आफूविरूद्ध परेको मानहानी मुद्दा मिलाउन ७८.७५ करोड डलर तिरेको छ।
अमेरिकी इतिहासमै कुनै मिडियाले आफूविरूद्धको मानहानी मुद्दा मिलाउन यति धेरै पैसा तिरेको यो पहिलो पटक हो।
फक्स न्युजले सन् २०२० को राष्ट्रपतिय चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई हराउन धाँधली भएको र त्यसमा विद्युतीय मतदान गर्ने मेसिन बनाउने कम्पनीको पनि संलग्नता भएको फक्स न्युजले समाचार प्रसारण गरेको थियो।
समाचार संस्था रोयटर्सका अनुसार विद्युतीय मतदानसम्बन्धी उपकरण बनाउने कम्पनी डोमिनियनले गलत समाचार दिएर आफ्नो मानहानी गरेको भन्दै अदालतमा फक्स न्युजविरूद्ध मुद्दा हालेको थियो।
उसले फक्स न्युजबाट १.६ अर्ब डलर क्षतिपूर्ति माग गरेको थियो। डेलावारको उच्च अदालतमा मुद्दाको अन्तिम सुनुवाइ हुनुअघि फक्स न्युजले डोमिनियनलाई ७८.७५ करोड डलर दिएर मुद्दा मिलाएको हो।
यसअघि मानहानीको मुद्दा मिलाउन वाल्ट डिज्नीले १७.७ करोड डलर तिरेको थियो। फक्सन्युजलाई अमेरिकामा ट्रम्प समर्थक मिडियाको रुपमा चिनिन्छ ।
फक्स न्युज अन्तर्राष्ट्रिय मिडिया टाइकुन रूपर्ट मुर्डकको हो । पछिल्लो ६ सातादेखि यस मुद्धाको सुनुवाई भइरहेको थियो ।डोमिनियनविरूद्धको मुद्दा पैसा तिरेर मिलाए पनि फक्स न्युजविरूद्ध मानहानीका अरू पनि मुद्दा अदालतमा विचाराधीन छन्।