
काठमाण्डु ,२४ चैत -वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका नेपालीहरूका परिवारलाई बिमावापतको रकम उपलब्ध गराइदिन्छु भन्दै ठगी गर्ने गिरोह पक्राउ परेको छ ।
पक्राउ पर्नेमा बैदेशिक रोजगार बोर्डका नायब सुब्बा पशुपति अधिकारी सहित सर्लाहीका रूद्रमान गोले, प्रकाशबहादुर गोले, रवीन्द्र मोक्तान, विनोदकुमार लामा, डिकबहादुर मल्ल र काभ्रेका रामबहादुर तामाङ छन्।उनीहरुलाइ उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनको टोलीले पक्राउ गरेको हो।
उनीहरुको साथबाट विदेशमा ज्यान गुमाएका व्यक्तिहरुको नागरिकता, राहदानी, जन्म, विवाह र मृत्यु दर्ता, वडा कार्यालयको सिफारिस लगायतका कागजात बरामद भएको छ ।
आफूहरू ठगिएको भन्दै दुई जनाले प्रहरीमा उजुरी गरेपछि कार्यालयले अनुसन्धान सुरू गरेको थियो। उनीहरुलाइ कााठमाण्डुको गोंगबुबाट पक्राउ गरिएको हो।
उनीहरुले वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएका र बिदामा आउँदा मृत्यु भएका नेपालीहरुले प्राप्त गर्ने बीमाको रकम दिलाइदिन्छु भनेर मृतकका आफन्तलाई ठगी गर्ने गरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्याल्यका सूचना अधिकृत एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।
पक्राउ परेका सबैमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।