
काठमाण्डु, २३ चैत– जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन सारेको छ । जसपाले उपनिर्वाचनको कारण देखाउँदै जेठ १ गतेको लागि अधिवेशन सारेको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन ।
जेठ १ देखि ३ गतेसम्म काठमाण्डुमा महाधिवेशन हुने उनले बताएका छन । यसअघि चैत २६ गतेदेखि २८ गतेसम्म अधिवेशन गर्ने तय भएको थियो ।
तर बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा पार्टीकै अध्यक्ष उपेन्द्र यादव नै उम्मेदवार बनेका कारण बैठक सारिएको उनले बताएका छन । अधिवेशनको लगभग तयारी पूरा भइसकेको छ ।
अध्यक्ष यादवको नेृत्वत्वमा गठन कार्यदलले मस्यौदा तयार गरी पार्टीलाई बुझाई सकेको छ । सो मस्यौदामाथि जिल्ला तथा प्रदेशबाट सुझाव पनि सङ्कलन भइसकेको छ ।
सुझावका आधारमा मस्यौदालाई अन्तिम रूप दिई विधानलाई अधिवेशनमा लग्नेछ । जसपाले तयार पारेको विधान संशोधन मस्यौदा अनुसार आफ्नो केन्द्रीय समितिको सदस्यसंख्या घटाउने भएको छ ।
पार्टीले तयार पारेको विधानको मस्यौदामा १५१ सदस्यीय कार्य समितिको प्रस्ताव गरिएको छ भने हालको विधानमा ७०१ सदस्यीय कार्य समिति रहेको छ ।
विधान मस्यौदामा त्यसलाई घटाएर १५१ कायम गर्ने प्रस्ताव गरिएको छ । मस्यौदाअनुसार केन्द्रीय समितिमा ४० प्रतिशत युवा हुनुपर्ने प्रस्ताव गर्दै ७० वर्ष पुरा भएको व्यक्ति केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिको पदाधिकारी वा सदस्यमा निर्वाचित हुन वा बस्न नपाउने व्यवस्था गरिएको छ ।