
काठमाण्डु, २२ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा पेशी तोकिएको छ ।
हिजो (मंगलबार) न्यायाधीश अनिल सिन्हाको इजलासमा परेको रिट हेर्न नमिल्ने भएपछि आज फुयाँलको इजलासमा सारिएको छ ।
रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित युवराज सफल पौडेलले सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।
यसअघि प्रहरी प्रतिवेदनका आधारमा महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । तर राहदानी दुरुपयोगजस्तो गम्भीर विषयमा मुद्दा नचलाउने निर्णय गरेर सरकारले संविधानकै उल्लङ्घन गरेको भन्दै पौडेल रिट बोकेर सर्वोच्च अदालत पुगेका थिए ।
आइतबार नै रिट निवेदन लिएर गएपछि सर्वोच्च अदालतले अध्ययनपछि सोमबार मात्रै उक्त रिट दर्ता भएको थियो । पौडेल आफैले जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी दिएर लामिछानेले दोहोरो पासपोर्ट प्रयोग गरेको र त्यो संविधान तथा कानुन विपरीतको काम तथा अपराध रहेको भन्दै तत्काल अनुसनधान गरी कारबाही गर्न माग गरेका थिए ।
सोही प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालयको निर्णयलाई नै उच्च सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ता कार्यालयले सदर गरेको थियो । यसअघि खारेज भइसकेको नागरिकता प्रयोग गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचन लडेका लामिछाने चितवन २ विजयी बनेका थिए ।
तर सर्वोच्च अदालतले प्रक्रिया नपुगेको र नेपाली नागरिक नरहेको व्यक्तिले निर्वाचनमा सहभागी भई विजयीसमेत भएको भन्दै उनको सांसद पद र निर्वाचन प्रक्रिया नै खारेज गरिएको थियो । त्यसलगत्तै चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदै छ ।