
काठमाण्डु,२१ चैत– नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पैसा नआउने मन्त्रालय भएका कारण शिक्षा मन्त्रालय नेताहरूको रोजाइमा नपर्ने बताएका छन ।
आज (मंगलबार) काठमाण्डुमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
पौडेलले नेताहरू मन्त्री बन्नका लागि तँछाडमछाड गरेर भागबण्डामा हिँड्ने गरेको तर शिक्षा मन्त्रालय कमै मात्रै नेताहरूको रोजाइमा पर्ने गरेको बताएका छन ।
पूर्वशिक्षा मन्त्रीसमेत रहेका पौडेलले सामुदायिक शिक्षाको सुधार गर्न सके शिक्षा मन्त्रालय नेताहरूको पहिलो रोजाइमा पर्ने बताएका छन । उनले भने, ‘तँछाडमछाड गरेर मन्त्रालय लिनको लागि भागबण्डामा साथीहरू हिँड्ने गर्नुहुन्छ ।
त्यो भागबण्डामा सबैभन्दा पहिला शिक्षा मन्त्रालय रोज्नको लागि अघि बढ्ने गरी विद्यालय शिक्षाको सुधार गर्न सके बाटो बनाउने मन्त्रालय भन्दा मान्छे बनाउने मन्त्रालय, नागरिक बनाउने मन्त्रालयलाई पहिलो प्राथमिकता राख्नुपर्छ ।
पैसा आउँदैन होला तर नागरिक बनाउने मन्त्रालयलाई पहिलो जोड दिने गरी काम गर्नुपर्छ । आज कुनैपछि विद्यार्थी शिक्षक सेवा आयोगमा गएर म शिक्षक बन्छु भनेर परीक्षा दिँदैन ।
त्यो विद्यार्थीलाई दोष दिने कुरा होइन, हामीले बनाउन सकेका छैनौँ, त्यो परिस्थिति हामीले बनाउनुपर्छ ।’ पौडेलले स्थानीय पालिका, विद्यालय व्यवस्थापन समिति र शिक्षकको सुधार गर्न सके सार्वजनिक विद्यालय आफै आकर्षणको केन्द्र बन्ने बताएका छन ।