रवि लामिछाने विरुद्धको मुद्दा सिन्हाको इजलासमा

काठमाण्डु टुडे २०७९ चैत २१ गते १२:१६ मा प्रकाशित

काठमाण्डु, २१ चैत– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासमा परेको छ ।

यो मुद्दा नवौं नम्बरमा रहेको छ । हिजो सोमबार दर्ता भएको रिट मंगलबारका लागि पेशी सूचीमा चढाइएको थियो । रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित युवराज सफल भन्ने युवराज पौडेलले सोमबार सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

यसअघि प्रहरी प्रतिवेदनका आधारमा महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । तर राहदानी दुरुपयोगजस्तो गम्भीर विषयमा मुद्दा नचलाउने निर्णय गरेर सरकारले संविधानकै उल्लङ्घन गरेको भन्दै पौडेल रिट बोकेर सर्वोच्च अदालत पुगेका थिए ।

आइतबार नै रिट निवेदन लिएर गएपछि सर्वोच्च अदालतले अध्ययनपछि सोमबार मात्रै उक्त रिट दर्ता भएको थियो । पौडेलले मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध महान्यायाधिवक्ता कार्यालयका साथै जिल्ला प्रहरी परिसर काठमाण्डु, अध्यागमन विभाग, प्रहरी प्रधान कार्यालय, रवि लामिछाने समेत ८ व्यक्ति तथा निकायलाई विपक्षी बनाएका छन् ।

पौडेल आफैले जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी दिएर लामिछानेले दोहोरो पासपोर्ट प्रयोग गरेको र त्यो संविधान तथा कानुन विपरीतको काम तथा अपराध रहेको भन्दै तत्काल अनुसनधान गरी कारबाही गर्न माग गरेका थिए ।

यसअघि खारेज भइसकेको नागरिकता प्रयोग गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचन लडेका लामिछाने चितवन २ विजयी बनेका थिए ।

तर सर्वोच्च अदालतले प्रक्रिया नपुगेको र नेपाली नागरिक नरहेको व्यक्तिले निर्वाचनमा सहभागी भई विजयीसमेत भएको भन्दै उनको सांसद पद र निर्वाचन प्रक्रिया नै खारेज गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us