भन्सारका पूर्व नायब सुब्बा रघुनाथ घिमिरेविरुद्ध २ करोडको भ्रष्टाचार मुद्दा

काठमाण्डु टुडे २०७९ चैत १९ गते १८:१९ मा प्रकाशित

काठमाण्डु, १९ चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार विभागका पूर्वकर्मचारी रघुनाथ घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घिमिरेविरुद्ध २ करोड १४ लाख रुपैंयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

घिमिरेले ७ करोड ३९ लाख रुपैयाँ सम्पत्ति जोडेको अख्तियारले जानकारी दिएको छ । जसमध्ये उनको वैध आम्दानी ५ करोड २५ लाख रुपैंयाँ मात्र हो । २ करोड १४ लाख ४६ हजार ६५२ रुपैयाँ २४ पैसा गैरकानुनी आर्जन गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन ।

घिमिरे तिनै व्यक्ति हुन्, जो गत जेठमा अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयान अनधिकृत रुपमा प्रवेश गरेको आरोप लागेको थियो ।

अनधिकृत व्यक्तिलाई व्यवसायीको मिलेमतोमा बजेट निर्माणमा सहभागी गराइएको भन्दै तत्कालिन अर्थमन्त्री जनार्दन शर्मामाथि प्रश्न उठेको थियो र उनले राजीनामा पनि दिएका थिए ।

 तर संसदीय छानबिन समितिले अनधिकृत व्यक्ति प्रवेश गरेको पुष्टि गर्न नसकेपछि शर्मा पुनः अर्थमन्त्री बनेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us