
काठमाण्डु, १९ चैत– काँग्रेसका सांसद प्रदीप पौडेलले मुलुकको हवाई क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन ।
आज आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन । उनले मुलुकको हवाई क्षेत्रमा पछिल्ला दिनहरूमा गम्भीर समस्याहरू देखापरेको बताएका छन ।
उनले त्यसको दिगो समाधान खोज्न सरकारसँग माग गरेका छन । उनले कुनै जहाजको पाङ्ग्रा खुस्किने, टायर भाडामा लिनुपर्ने, उडान नियमित नभएर यात्रुहरू अलपत्र बन्ने स्थिति पछिल्लो समय देखापरेको बताएका छन ।
सांसद पौडेलले सो समस्यालाई गम्भीरतापूर्वक लिन पनि सरकारलाई सचेत गराएका छन ।उनले भने, ‘पछिल्लो समय हवाई क्षेत्रमा अत्यन्तै गम्भीर त्रुटिहरू देखिएका छन् ।
कुनै जहाजको पाङ्ग्रा खुस्किने, टायर भाडामा लिनुपर्ने, उडान नियमित नभएर यात्रुहरू अलपत्र बन्ने स्थिति बनेको छ । हिजो मात्रै नेपाल वायु सेवा निगमको विमान दुबईबाट काठमाडौँ उड्नै लाग्दा पाइलटलाई पखाला चलेपछि ५४३ यात्रु अलपत्र परे ।
पछिल्लो रिपोर्टले प्रष्ट भन्छ, नेपालमा हवाई दुर्घटनाका पछाडि इन्जिनले काम नगरेको जस्ता यान्त्रिक कारण भन्दा व्यवस्थापकीय पक्षमा चुक्दा बढी दुर्घटनाहरू हुन्छन् । तर, सम्बन्धित निकायको नेतृत्व यस विषयमा बेखवर जस्तै छ ।’