मिटरब्याजी पीडितहरुसँग सरकारले गरेको सहमति कार्यान्वयन हुन्छ: गृहमन्त्री श्रेष्ठ

काठमाण्डु टुडे २०७९ चैत १९ गते १३:११ मा प्रकाशित

काठमाण्डु, १९ चैत– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितहरुसँग सरकारले गरेको सहमति कार्यान्वयन गर्ने बताएका छन ।

आज (आइतबार) स्वास्थ्य परीक्षणपछि घर फर्किन लागेका मिटरब्याजी पीडितहरुलाई भेट्न पुगेका उनले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै यस्तो बताएका हुन ।

गृहमन्त्री श्रेष्ठले सरकारले गरेको सम्झौता कार्यान्वयन हुने बताएका छन । उनले पीडितहरू सरकारसँग भएको सम्झौता कार्यान्वयन हुनेमा विश्वस्त भएर फर्किन लागेको बताएका छन ।

उनले भने, ‘उहाँहरु जाने स्थितिमा अझै केही छ कि भन्नुपर्ने भनेर कुरा गर्न आएको हुँ । उहाँहरुले जाने क्रममा छौं, हामी विश्वस्त भएर जादैछौँ । धेरैले आजै बेलुका जान्छौं होला भन्नुभएको छ’ ।

उनले यो समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै पीडितसँगको सहमति कार्यान्वयन गर्ने बताएका छन । त्यसका लागि आयोग बनाउने कानूनको प्रक्रिया अगाडि बढिसकेकोले समस्या समाधान हुने उनले बताएका छन । उनले मिटरब्याज पीडित मनोजकुमार पासवानले आफूहरू सोमबारसम्ममा गाउँ फर्किसक्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us