मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन

काठमाण्डु टुडे २०७९ चैत १४ गते १२:२५ मा प्रकाशित

काठमाण्डु,१४ चैत– सरकारले मिटरब्याज पीडितहरूसँग छलफल गर्न वार्ता समिति गठन गरेको छ । समितिले पीडितहरूसँग वार्ता गरेपछि आवश्यक निर्णयका लागि आज दिउँसो बस्ने मन्त्रिपरिषद्को बैठकमा छलफल हुने भएको छ ।

सरकारले पीडितहरूका समस्या समाधानका लागि कानुनी जटिलता फुकाउन संसद्मा विधेयक दर्ता गर्ने तयारीसमेत रहेको छ । उक्त विधेयकबारे आज बस्ने मन्त्रिपरिषद्को बैठकले सदनमा प्रस्तुत गर्नेबारे निर्णय गर्नेछ भएको छ ।

बैठकअघि पीडितहरूसँग छलफल गर्न गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरिएकमो थियो ।

वार्ता टोलीले मिटरब्याज पीडितहरूसँग प्रत्यक्ष भेटेर छलफल गर्ने र सोबारेमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराउने कार्यादेश दिइएको छ।

पीडितहरू हिजो काठमाण्डु आए लगत्तै प्रधानमन्त्री प्रचण्डले गृह सचिव र सचिवालयका पदाधिकारीलाई पीडितरूसँग छलफल गर्न र समस्या हल गर्ने वातावरण बनाउन निर्देशन दिएका थिए।

पीडितहरूसँग वार्ता टोलीले छलफल गरेपछि प्रधानमन्त्री प्रचण्डले आज नै पीडितहरूसँग भेट गर्ने र थप छलफल गर्ने कार्यक्रमसमेत रहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us