
काठमाण्डु, ११ चैत– उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन ।
मन्त्रालय बाँडफाँडको विषयमा सत्तारुढ दलहरुबीच किचलो बढिरहेका बेला आज शनिबार ललितपुर चेम्बर अफ कमर्सले गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
उनले अर्थतन्त्र गम्भीर अवस्थामा रहेको र सरकारको सकारात्मक हस्तक्षेप आवश्यक भएको बताएका छन । उनले भने, ‘सरकारको तर्फबाट मैले तपाईहरुलाई अहिले भन्ने कुरा के हो भने सरकार यसमा गम्भीर छ ।
एक दुईभित्रै मन्त्रिपरिषद विस्तारले पूर्णता पाउँछ । त्यसपछाडि हामी यसबारेमा आवश्यक परामर्श सम्बन्धित सबै संस्था, निकाय र व्यक्तिहरु पनि गरेर एउटा दिशामा प्रभावकारी ढंगले कदम चाल्ने गरी अगाडि बढनेछौं ।’