एमाले बागमती प्रदेश सरकारबाट बाहिरियो

काठमाण्डु टुडे २०७९ चैत १० गते १४:३४ मा प्रकाशित

काठमाण्डु,१० चैत– बागमती प्रदेश सरकारबाट एमाले बाहिरिएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै एमाले सरकारबाट बाहिरिएर सशक्त प्रतिपक्षको भूमिकामा रहने एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिएका छन ।

उनले एमालेका मन्त्रीहरुले आजै प्रदेशसभा बैठक पश्चात मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउने पनि बताएका छन । उनले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मतसमेत नदिने पनि बताएका छन ।

२५ पुस मा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल नेतृत्वमा प्रदेश सरकारमा ४ जना मन्त्रीसहित एमाले सहभागी भएको थियो ।

एमालेबाट संसदीय दलका नेता थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, केशवप्रसाद पोखरेल कृषि पशुपन्छी विकास मन्त्री र रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री नियुक्त भएका थिए ।

संसदमा आफ्नो धारणा राख्दै नेता थपलियाले विगतमा सत्ता गठबन्धन एमाले अनुकुल हुँदाको बखतमा कांग्रेसले देखाएजस्तो ढुलमुले शैली एमालेले नदेखाउने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us