नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै सबैको हातमा पाठ्यपुस्तक पुग्छ: जनक शिक्षा

काठमाण्डु टुडे २०७९ चैत ९ गते १४:१४ मा प्रकाशित

काठमाण्डु,९ चैत– जनक शिक्षा सामग्री केन्द्रले १ वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्रको लागि १५ चैत भित्र पुस्तक प्रकाशन गरेर सकिने जानकारी दिएको छ ।

केन्द्रले ६ देखि १० कक्षासम्मका एक करोड ५० लाख थान पुस्तक छपाइ गर्ने जिम्मेवारी पाएको छ । अब करिब दश प्रतिशत मात्र पुस्तक छाप्न बाँकी रहेकाले एक हप्ताभित्र छपाइ सकिने जनक शिक्षाका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिएका छन ।

बाहिरी जिल्लालाई प्राथमिकता दिएर पाठ्यपुस्तक छापिएको र छापिसकेका पुस्तकहरु शाखा कार्यालयमा पठाउने क्रम पनि जारी रहेको उनले जानकारी दिएका छन ।

उनले भने, ‘हामीले प्राथमिकताका आधारमा शाखामा पुस्तक पठाइरहेका छौं । उपत्यका नजिकैका केही जिल्ला र उपत्यकालाई १५ दिन भित्र छपाइ सकेर उपलब्ध गराउँछौं । चैत १५ देखि हामी बिक्री शुरु गर्छौं ।’

सरकारको योजना अनुसार नयाँ शैक्षिक सत्रको सुरुवातमा विद्यार्थीको हात–हातमा पुस्तक पुग्ने उनले बताएका छन । केन्द्रका ९ वटा शाखा कार्यालयहरुमा पुस्तक पु¥याइसकेको झाले जानकारी दिएका छन ।

सरकारले यस वर्ष विद्यालय तहका विद्यार्थीलाई समयमै पाठ्यपुस्तक पु¥याउन सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्रलाई ६ देखि १० कक्षासम्मको र निजी प्रकाशकलाई १ देखि ५ कक्षासम्मको पुस्तक छाप्न दिएको छ ।

निजीले कक्षा १ देखि ५ सम्मका एक करोड २० लाख थान पुस्तक छाप्नुपर्ने छ । आगामी शैक्षिक सत्र २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू हुनेछ । जस अनुसार पुस्तक प्रकाशन पनि अन्तिम चरणमा पुगेको केन्द्रले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us