प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्ने ३ जना ५ दिन हिरासतमा रहने

काठमाण्डु टुडे २०७९ चैत ८ गते १८:१३ मा प्रकाशित

काठमाण्डु, ८ चैत– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जनालाई थप पाँच दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ ।

अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाण्डुले उनीहरुलाई ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।

हिजो (मंगलबार) ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्न जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।

पक्राउ परेपछि पनि नाराबाजी गर्न नछाडेपछि प्रहरीले एक युवाको मुख समेत थुनेको थियो । अरु नै आयोजक रहेको कार्यक्रममा गएर जथाभावी होहल्ला गर्ने र विथोल्ने प्रयास भएकाले तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाण्डुका एसपी सीताराम रिजाल जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us