
काठमाण्डु,४ चैत–त्रिभुवन विश्वविद्यालय अन्तर्गतको भाली आइतबार हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदानका लागि चार आंगीक क्याम्पसले विद्युतीय मेसिन प्रयोग गर्ने भएका छन् ।
त्रिवि केन्द्रीय क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस र पूर्वाञ्चल इञ्जिनीयरिङ क्याम्पस धरानले मतदानमा विद्युतीय मेसिन प्रयोग गर्ने भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा पशुपति अधिकारीले जानकारी दिएका छन ।
ती सबै क्याम्पसमा रामलक्ष्मण इनोभेसन प्रालिका विद्युतीय मतदान मेसिन प्रयोग गरीने भएको छ । विद्युतीय मतदानका लागि सबै तयारी पूरा गरिएको रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले जानकारी दिएका छन ।
त्रिवि केन्द्रीय क्याम्पसमा १६, पुल्चोक इञ्जिनीयरिङमा १४, थापाथली इञ्जिनीयरिङ क्याम्पस र पूर्वाञ्चल इञ्जिनीयरिङ क्याम्पसमा १२–१२ विद्युतीय मेसिन प्रयोग उनले बताएका छन ।
चार क्याम्पसमा मतपरिणाम सोही दिन सार्वजनिकसमेत हुने समेत उनले बताएका छन । त्रिवि क्याम्पसमा ६२, पुल्चोक क्याम्पसमा ५८, थापाथली क्याम्पसमा ४१ र पूर्वाञ्चल क्याम्पसमा ४५ जना प्रत्यक्षतर्फका उम्मेदवार रहेका छन ।
त्रिवि केन्द्रीय क्याम्पसमा तीन हजार तीन सय ३९, थापाथली क्याम्पसमा एक हजार सात सय ५०, पुल्चोक क्याम्पसमा दुई हजार छ सय ९९ र धरानमा एक हजार नौ सय ४१ मतदाता रहेका छन ।
स्ववियु निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुँने भएका छन ।
विद्युतीय मेसिनमा मतदाताले पहिले प्रत्यक्ष मतदान गरिसकेपछि समानुपातिकका लागि मतदान हुने रामलक्ष्मण इनोभेसनका सञ्चालक रिमालले जानकारी दिएका छन ।